हाइ  किन आउछ ?  

हाइ आउनु एक सामान्य शारीरिक प्रक्रिया हो ! कुनै कुनै समयमा हामीले नचाहादा नचाहादा  समेत एकाएक हाइ आएर मुख खुल्दछ,अझ भनौँ हामिले आफुले हाइ काढेको पत्तो समेत पाँउदैनौ । यसले मस्तिष्कको तापक्रम घटाउनुका साथै अक्सिजनको कमीलाई पूर्ति गर्दछ ।

 तर

हाइ काढ्ने विषयमा हाम्रो बुझाइ र वास्तविकतामा निकै ठुलो अन्तर रहन सक्दछ। कतिपयमा यसलाई निद्रा आएको वा अल्छी लागेको संकेतका रुपमा मात्र बुझाइ रहन सक्दछ । तर वैज्ञानिकहरुका अनुसार मानिसमा हाइ आउनुको कारण निद्रा वा अल्छी आउनु मात्र होइन । साधारणतया एक स्वस्थ व्यक्तीले प्रतिदिन ५ देखी १० पटक र जिवनभर करिव साढे दुइ लाख पटक सम्म हाइ काढ्छन् । तसर्थ कोही व्यक्ती हाइ काढ्यो भन्दैमा  उ निद्रामा रहेको आलस्य अथवा दिक्क मानिरहेको निर्णयमा पुग्न हतार नगर्नुहोस ।मानिस मात्र होइन चौपाया तथा अन्य प्रजातिका केही जिवहरुले समेत हाइ काढ्छन् । युनिसेफका अनुसार त अझ करिब २८ हप्तामा शिशुले समेत गर्भ भित्र हाइ काढ्ने गर्दछ ।


हाइ काढ्ने विषयमा भएका विभिन्न खोज तथा अनुसान्धान यस्ता तथ्य देखिएका छन ।


प्रिन्सटन विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अनुसन्धान अनुसार हाइ आउनु निद्रा वा आलस्यको संकेत होइन । यो हाम्रो मस्तिष्कको तापक्रमलाई नियन्त्रणमा राख्ने प्रक्रिया हो ।सन् २००७ मा ग्यालपले गरेको अनुसन्धानमा, निधारमा तातो अथवा चिसो पदार्थ राखेर अरूले हाइ गरेको भिडियो हेर्दा त्यस व्यक्तिमा कस्तो असर हुन्छ भनेर पत्ता लगाएका थिए। अनुसन्धानमा भाग लिएका प्रतियोगीहरूले निधारमा तातो पदार्थ राखेर भिडियो हेर्दा उनीहरूले ४१ प्रतिशत चोटी हाइ गरेका थिए भने, चिसो पदार्थ राख्दा हाइ गर्ने प्रक्रिया केवल ९ प्रतिशत मात्र थियो।


अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिन अनुसार  जब रगतमा अक्सिजन पूराउनका लागि फोक्सोमा पर्याप्त अक्सिजन हुँदैन तब हाइ काढ्दाको माध्यमबाट एकैसाथ ठूलो परिमाणमा मुखबाट फोक्सोसम्म अक्सिजन पुग्दछ र फोक्सोबाट रगतमा मिसिन्छ । मस्तिष्कको भित्तालाई चिसो राख्नका लागि मस्तिष्ककै निर्देशनमा मानिसलाई हाइ आउँछ । सन् २००४ मा गरिएको एक अध्ययनले ५० प्रतिशत मानिसहरुले आफ्नो अगाडि रहेका मानिसहरु हाइ गरेको देखेर हाइ काढ्ने गरेको तथ्य पत्ता लगाएको थियो । यदि हामिले कसैले हाइ काढेको देख्यौँ  भने दिमागको अवचेतन भागले त्यसलाई पछ्याउन खोज्दछ फलत हामिलाइ अवगत नभै हाइ काढीरहेको हुन सक्दछौँ ।


अमेरिकन नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार हाइ आउनु सामान्य कुरा हो । यदि छिटो छिटो हाइ आउँछ भने त्यो अनिद्राको संकेत हुनसक्छ र त्यसका लागि पर्याप्त निद्रा लिनु आवश्यक हुन्छ  तर  हाइ आयो भने त्यसलाई रोक्नु हुँदैन मज्जाले काढ्नैपर्छ । आएको हाइ रोक्दा त्यसले शरीरमा नकारात्मक असर समेत पार्नसक्छ ।